प्रचण्डको जोड एकतामै, तर बाबुरामकै निकटहरु कता लाग्ने दोधारमा
जति जति आम चुनाव नजिकिँदैछ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा आफ्ना पूर्वसहकर्मीहरुसँग हात मिलाउन उति अधीरता बढ्दो छ । यस्ता साथीहरुको सूचीमा बाबुराम भट्टराईको नाम पहिलो नम्बरमै भेटिन्छ ।
तर, भट्टराई भने भयानक अलमलमा छन् । उपेन्द्र यादवसँगको जसपा यात्रामा बिराम लागेको छ । अगाडि जाने बाटोबारे उनीजत्तिकै अलमलमा छन्, उनका साथीहरु । भन्नलाई उनीहरु पार्टी पुनर्गठनमा जाने भन्दैछन्, तर यतिका दिनसम्म कुनै ठोस औपचारिक निर्णयमा पुगिसकेका छैनन् ।बिहीबार बिहान प्रचण्डलाई खुमलटारको एक अपार्टमेन्टमा भेट्न जाँदा भट्टराईसँग राजनीतिक सौदाबाजीको कुनै ठोस प्रस्ताव थिएन । प्रचण्ड बरु नेकपा समाजवादी केन्द्र बनाएर भए पनि आउने चुनावमा एमाले अध्यक्ष केपी ओलीलाई ‘देखाइदिने’ मुडमा छन् । यस्तोमा भट्टराईले के गर्ने, प्रष्ट छैन ।असार अन्तिमतिर (२८–२९) बोलाइएको भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठकले उपेन्द्र यादवबाट जनता समाजवादी पार्टीको रुपान्तरण सम्भव नभएको निष्कर्ष निकाल्दै नयाँ पार्टी गठनमा जाने निर्णय गरेको थियो ।निर्णयको झण्डै एक साता पुग्दै लाग्दा पनि विभिन्न विकल्पमा छलफल भइरहेको तर कुनै टुंगोमा अहिलेसम्म नपुगिएको भट्टराई समूहका नेताहरुले बताएका छन् । यद्यपि पहिले नै दर्ता भइसकेको ‘समावेशी लोकतान्त्रिक पार्टी’लाई भट्टराईले भूमिगत रुपमा सञ्चालन गरेको पाइएको छ ।वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भनेर जसपाबाट निस्किएका भट्टराई आफूले सोचेका विभिन्न विकल्पमध्य कुनै एकमा निश्चित नहुन्जेल उक्त पार्टीलाई औपचारिक रुपमा सार्वजनिक गर्ने पक्षमा छैनन् ।