आमाबुवा भन्छन्- अनुमतिविना छोरालाई लगे चर्चित भएपछि पैसा मागेको जी-बबको आरोप,
चर्चित र्याप तन्नेरी जी-बब अर्थात् सुदीप भण्डारी विवादमा तानिएका छन् । र्याप गायन आयोजक कम्पनी एएनटीएफले छोरालाई आर्थिक लगायतका विषयमा बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार उनका बुवाआमाले उजुरी दिएका छन् ।
बुवाआमाको उजुरीपछि आफ्नो मानहानी भएको र स्वतन्त्रता दिलाउनुपर्ने माग गर्दै जी-बबले पनि प्रशासनमा उजुरी दिएका छन् । प्रहरीले दुवै जनालाई सोमबार छलफलमा बोलाएको छ ।जी-बबका बुवाआमाले शुक्रबार पत्रकार सम्मेलन गर्दै छोरालाई घर फिर्ता ल्याउनुपर्ने, उसले कमाएको पैसा पाउनुपर्ने र छोराको स्वास्थ्य सुधार्न रिह्याबमा राख्नुपर्ने माग गरेका छन् ।
उक्त पत्रकार सम्मेलनपछि चर्किएको विवादबारे आइतबार जी-बबले पत्रकार सम्मेलन गर्दैछन् । शनिबार पनि उनले एक राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता समेत दिए । विवादको केन्द्रमा आर्थिक कारोबार नै देखिएको छ । जी-बबले पनि आफूले आमाबाबुबाट स्वतन्त्रता पाउनुपर्ने माग राखेका छन् ।