आले-अधिकारी विवाद प्रकरण : साँठगाँठबाट नियुक्ति, स्वार्थ बाझिएपछि निलम्बन
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्यो । कात्तिक २०७८मा नियुक्तिका बेलामा नै अधिकारीको छवी र कार्यक्षमतामा प्रश्न उठेकै थियो, तर संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले नेपाल एयरलाइन्स रुपान्तरणको नारा दिएर अधिकारीलाई भित्र्याएका थिए ।
अधिकारीलाई नियुक्त गर्ने समयमा निगमको नेतृत्वमा महाप्रवन्धक डीमप्रसाद पौडेल थिए । पौडेलको अधिकार खोस्ने गरी आलेले नै अधिकारीलाई नियुिक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए ।
निगम स्रोतका अनुसार निगमबाटै अवकास पाएका अधिकारीको छवी विगतदेखि नै स्वच्छ थिएन । सेवाअवधिमा कार्यालयमा महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेपछि लिखित रुपमै माफ माग्नु परेको विगत समेत थियो । ‘अधिकारी सरले काम गर्न सक्नुहुन्न भन्ने पहिल्यै थाहा थियो,’ निगम स्रोत भन्छ, ‘तर, त्यतिबेला निगमभित्र पुरानो नेतृत्व विस्थापित गरेर आफूखुसी संस्था चलाउने योजना बनाएर नियुक्ति दिइएको थियो ।’
अध्यक्षको रुपमा नियुक्त भएपछि हरेकजसो सार्वजनिक मञ्चमा पर्यटनमन्त्री आलेले ‘कम तलबमै काम गर्न मानेको’ भन्दै अधिकारीको प्रशंसा गर्ने गरेका थिए । तत्कालीन महाप्रवन्धक पौडेललाई मन्त्रालयमा तानेर अधिकारीलाई निगममा काम गर्न वातावरण बनाइदिएका थिए । तर, करिब ८ महिनामै अधिकारीसँग आलेको सम्बन्ध अश्लील शब्दमा मुख छाड्ने अवस्थामा पुग्यो ।