एसपीपीबारे प्रदीप ज्ञवाली : आईपीएस प्रतिवेदन आएपछि हामीले थाती राखेका थियौं
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको विदेश नीतिमाथि निरन्तर प्रश्न उठाउँदै आएको छ । पछिल्लो समय अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम सम्झौता गर्न लागेको सार्वजनिक भएपछि बाह्य सम्बन्धमा गम्भीर विचलन देखिएको बताएको छ ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि प्रस्तावित मस्यौदा धेरै गम्भीर भएको बताउँछन् । ‘यो ड्राफ्टमा नेपालले हस्ताक्षर गर्न सक्दैन, मिल्दैन । त्यो गर्नु भनेको हामी अमेरिकाको सेक्युरिटी फ्रेमवर्कको एक अंग बन्नु हो’ उनले भने, ‘सरकार त्यसमा जान खोजेको हो भने आजदेखि संविधानको आधारभूत कुरा र मान्दै आएका मूल्य–मान्यतालाई परित्याग गरेका छौं, एउटा कित्तामा ढल्किने भयौं भनेर पहिल्यै घोषणा गर्नुपर्छ ।’
हामीकहाँ लामो समयसम्म एकीकृत परराष्ट्र नीतिको अभाव थियो । मेरै कार्यकालमा व्यापक परामर्शसहित परराष्ट्र नीति तर्जुमा गरियो । अब एउटा बाटोमा अगाडि बढ्छौं र विगतका अस्पष्टता हट्छन् भन्ने लागेको थियो । तर, वर्तमान सरकार बनिसकेपछिका घटनाक्रमले हामी प्रतिपक्षलाई मात्रै होइन, देशलाई माया गर्ने जो–कसैलाई चिन्तित बनाएको छ । हाम्रो परराष्ट्र नीति, बाह्य सम्बन्ध र कूटनीतिक ‘डिल’मा गम्भीर विचलन देखिएको छ ।
अर्कोतिर बाह्य परिस्थिति एकदमै तरल र बहुआयामिक तनावतिर गइरहेको छ । युक्रेन युद्ध, निर्माण हुँदै गरेका नयाँ–नयाँ संयन्त्र र त्यसका चापले धेरै देशलाई चिन्तित बनाएको छ ।
विश्वशक्ति अमेरिका र उदीयमान शक्ति चीनबीच द्वन्द्व छ । पहिलेको शक्तिशाली अवस्थामा फर्किरहेको रूस र अमेरिकाबीच द्वन्द्व छ । हाम्रा दुई निकट छिमेकी मुलुकका बीचमा द्वन्द्व छ । विश्व व्यापार खल्बलिएको छ । एक किसिमले व्यापार युद्धको अवस्था छ । डब्ल्यूटीओ जस्ता संगठनहरू करिब करिब निष्प्रभावी भएका छन् ।
यस्तो बेला नेपालले देखाउनुपर्ने सुझबुझ र कायम गर्नुपर्ने कूटनीतिक सन्तुलन गुमाउँदै गएको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो सरकारले हाम्रो परराष्ट्र सम्बन्धलाई एकदमै गलत दिशातिर लगिरहेको छ ।