फिफा विश्वकप ड्र : जर्मनी र स्पेन एकै समूहमा
जर्मनी र स्पेन आगामी नोभेम्बर/डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको एकै समूहमा परेका छन् ।
शुक्रबार राति कतारको दोहामा भव्य कार्यक्रमबीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । उपाधि दाबेदार स्पेन र जर्मनी एकै समूहमा परेका छन् ।
समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्डबीचको अन्तर महादेशीय प्लेअफको विजेता यस समूहमा हुने छन् ।
सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । यस समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ ।
लियोनल मेस्सी र रोवर्ट लेवान्डोस्कीको टोली समूह चरणमै भिड्ने भएका छन् । समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् ।
क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना पनि छन् । विश्व नम्बर एक ब्राजिलसहित स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन समूह ‘जी’ मा रहेको छ ।
आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र ईक्वेडर समूह ‘ए’ मा छन् ।
यसैगरी समूह बी मा इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड) छन् भने समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा छन् ।