‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान, एमसीसीबारे पनि स्पष्ट पारिने
नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दैछ ।
आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य राखेको छ ।
पार्टी प्रवक्ता डा प्रकाशशरण महतका अनुसार स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ ।
यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिसाथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टीपङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराइने पार्टी कार्यालयले जनाएको छ ।
कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्ने, प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मकरूपमा सरकारमा जानुपरेको यथार्थ जनसमक्ष राख्ने, कांग्रेसको नेतृत्वमा सरकार बनेपछि छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेकोलगायत सरकारका जनहितकारी कार्य जनतासमक्ष पु¥याउने अभियानको उद्देश्य छ ।