हत्यापछि आरोपी पुगे कुवेत र बहराइन, १६ वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीले १६ वर्षअघिको एक हत्या घटनाका फरार अभियुक्त अशोक गुरुङलाई पक्राउ गरेको छ । १६ वर्षअघि सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षीय रोजन राईको हत्या गरेको आरोपमा ४६ वर्षका गुरुङ पक्राउ परेका हुन् ।
गुरुङलाई प्रहरीले इन्टरपोलको सहयोगमा बहराइनबाट पक्राउ गरी मंगलबार नेपाल ल्याएको हो । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमति लिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले जानकारी दिए । पोखरा सातमुहाने घर भएका गुरुङ हत्याको घटनापछि कुवेत र बहराइन पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले घटनाका प्रत्यक्षदर्शीको भनाइ र घटनास्थल मुचुल्काका आधारमा अनुसन्धान अघि बढाइ गुरुङलाई पक्राउ गरिएको बताए ।