मिडियाको हेडलाइनल विगार्यो, जनता मसँग सन्तुष्ट छन् : मेयर शाक्य
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मिडियामा आएका हेडलाइनहरुले पनि धेरै कुरा विगारेको बताएका छन् ।
आफ्नो कार्यकालमा सम्पदा क्षेत्रमा भएको कामबारे जानकारी गराउन शुक्रबार पत्रकार सम्मेलन गरेका मेयर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद सञ्चारमाध्यममा आएको हेडलाइन जस्तो नभएको बताए । केही केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन खोजेपनि आफूले नगरसभा र कार्यपालिकाको निर्णय भन्दा बाहिर गएर कुनै काम नगरेको उनको भनाइ छ ।
‘विवादको विषयमा जे–जे हेडलाइन आए त्यस्तो हैन, कन्टेनमा ठिक थियो । तर हेडलाइनमा अलि कडा आउँदा धेरै ठूलो हो कि जस्तो लागेको हो’ उनले भने । रानीपोखरीमा कंक्रिट विवादमा आफ्नो अडान अहिले पनि कायम रहेको उनले बताए ।
रानीपोखरी वर्षमा एक दिन हैन, सधैं खुला हुनुपर्छ भन्ने आफ्नो योजना अनुसार काम गर्न खोजेको उनले बताए । कफि सप र शौचालय भने आफूले मन्दिर भित्र नभई शान्तिबाटिकामा बनाउन चाहेको र अहिले बनिरहेको पनि उनले बताए ।