सुनाकोठी-चापागाउँ सडकखण्ड अनिश्चितकालका लागि बन्द
ठेकेदारले सडक निर्माण नगरेको भन्दै ललितपुर सुनाकोठीका स्थानीयबासीले सडक अवरूद्ध गरेका छन्।
मंगलबार बिहानैदेखि सुनाकोठी-चापागाउँ जाने सडक स्थानीयले अवरूद्ध गरेको ललितपुर महानगरपालिका-२७ का वडाध्यक्ष बाबुराज महर्जनले जानकारी दिए।
झन्डै डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले नबनाएको भन्दै सुनाकोठीका स्थानीय आक्रोशित भएका हुन्।
‘काम जम्मा दुई दिनको छ। तर ठेकेदारले नबनाइदिएपछि स्थानीयहरू आक्रोशित भएर आज अवरोध गरेका हुन्,’ वडाध्यक्ष महर्जनले भने, ‘डेढदेखि दुई किलोमिटरको बाटोमात्रै हो।’
उनका अनुसार सडक निर्माण गरिदिन भन्दै ठेकेदारलाई पनि बोलाइएको छ। स्थानीयले सडक अवरोध गरेपछि कम्पनीले ‘बेस’ हाल्न माटो पनि झारिसकेको उनले बताए। यसअघि पनि सुनाकोठीबासीले सडक निर्माण गरिदिन भन्दै सडक अवरोध गरेका थिए।
स्थानीय तथा नेवाज क्लबका अध्यक्ष निरोज महर्जनले सडक अनिश्चितकालका लागि अवरोध गरेको बताए।